सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता

काठमाडौँ । फागुन १४, सरकार र मिटरब्याजपीडितका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । वार्ता बिहान ११ बजे गृहमन्त्रालयमा हुनेछ । सरकार र मिटरब्याजपीडितबीच हिजो बेलुका भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बस्ने गरी सकिएको थियो । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने तयारी रहेको छ ।
हिजोको वार्तामा मिटरब्याज तथा ठगिविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोली र सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितसहितको टोली सहभागी थिए । सरकारले वार्ताका लागि हिजो नै सरकारी वार्ता टोली बनाएर पीडित पक्षलाई छलफलमा बोलाएको थियो । झण्डै चार हजार पीडित गत बुधबार काठमाडौँ आइपुगेका थिए । गत पुस १६ गतेबाट पूर्वीनाका काँकडभिट्टा र पश्चिमको गड्डाचौकीबाट ‘न्यायका लागि मार्चपास’ सुरु गरेका थिए ।