गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

सहयात्रा टिभी

कास्की । फागुन १६, गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि बैठक सञ्चालन गर्ने तयारी रहेको जनाएको छ ।

बर्खे अधिवेशन गत असोजमा बन्द गरिएको भए पनि बिजनेस अभावका कारण सरकारले हिउँदे अधिवेशन सुरु गरेको थिएन । बर्खे अधिवेशन सम्पन्न भएको करिब ६ महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको हो । अधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै अर्को अधिवेशन सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् । हिउँदे अधिवेशन नदीपुरस्थित प्रदेशसभाको भवनमा नै सञ्चालन हुने सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार आजको बैठकमा चारवटै संसदीय दलका नेताले सम्बोधन गर्नेछन् । यस्तै, विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने उनले बताए । यी विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले छलफलपछि सचिवालयमा पठाइएको थियो । संशोधनसहित प्रदेशसभामा नै फिर्ता हुने सचिवालयले जनाएको छ । प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिले गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरेको थियो ।

प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजानिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेश हुने छन् । प्राइभेट फर्मसम्बन्धी विधेयक संसद् सचिवालयमा यसअघि नै दर्ता भएको थियो भने, सडक निर्माणसम्बन्धी विधेयक मंगलबार मात्रै संसद् सचिवालयमा दर्ता गरिएको थियो । सचिवालयमा दर्ता भएको विधेयक ७३ घण्टा पूरा भएपछि मात्रै संसद्‍मा पेस गर्न पाउने व्यवस्था छ । हिउँदे अधिवेशनमा सात वटा विधेयक अघि बढाउने तयारी सरकारको छ । प्रदेशसभाबाट हालसम्म ६६ वटा विधेयक पारित भएका छन् ।

प्रकाशित : 28 February, 2024

प्रतिक्रिया दिनुहोस्