उपाधिका लागि नेपालले आज जोर्डनसँग खेल्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमेन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

नेपाल सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराएको थियो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम मानिन्छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

यता, नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसैबीच, सावित्रा भण्डारी साम्बाले आजको फाइनल खेल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्