नामिबियालाई हराउदै नेदरल्यान्ड्सले लगातार दोस्रो जित हासील

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराउदै लगातार दोस्रो जित हासील गरेको छ ।

पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो ।

नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए ।

नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

यो नेदरल्यान्ड्सको टी-२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी-२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो ।

नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

 

प्रकाशित : 29 February, 2024

प्रतिक्रिया दिनुहोस्