राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै, आज विदाइ कार्यक्रम

काठमाडौं । फागुन २०, राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्यको पदावधि आज सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल सकिएसँगै उनीहरुको पदावधि सकिएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ सदस्य , नेपाली कांग्रेसका चार , नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकसहित राष्ट्रपतिबाट मनोनित एक गरी २० जनाको कार्यकाल सकिएको हो ।
आजदेखि कार्यकाल सकिएका २० ठाउँमा गत माघ ११ गते राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । एक जना भने राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ । नवनिर्वाचित सदस्यको सपथ कार्यक्रम भोलिलाई राखिएको छ ।
पछिल्लो निर्वाचनको परिणाम अनुसार राष्ट्रिय सभामा माओवादी पहिलो ठूलो दल बनेको छ भने कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा पुगेको छ । एमाले भने खुम्चिएर तेस्रो स्थानमा पुगेको छ । यसैबीच राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ६ वर्ष कार्यकाल पुरा गरेका सदस्यको आज विदाइ कार्यक्रम गर्दै छ । समितिको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।