केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको जानकारी प्राप्त भएको छ।

विनोद खाजाको पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् । प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।

हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

बालिकाको घर भने खोटाङको अ‍ैसेलुखर्क- ६ मा हो । दुई वर्षदेखि दाजुको घरमा बसिरहेकी उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार बालिकाको हत्या प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने देखिन्छ ।

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्