त्रिशूलीमा बस खस्दा चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

मलेखु । फागुन २३, कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटनामा परेको छ । बुधबार बिहान भएको सो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा खटिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।