केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेन्सरले रोकेको रंगेलीको नाममा फिल्म बनेकोमा मेयर खुसी

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, रंगेली नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवाल (बगडिया)ले आफ्नो नगरपालिकाको नाममा फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन्।

पर्सि शुक्रबारबाट रिलिजमा आउने फिल्म रंगेलीलाई सेन्सर बोर्डले ठाउँको नामसँग मेल खाएकै कारण सेन्सर सर्टिफिकेट दिन अस्वीकार गरे पनि उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै खुसी व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत् अग्रवालले सफलताको शुभकामनासमेत दिएका छन्। भिडियोमार्फत् उनले फिल्म रंगेली ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण तथा प्रचुर सम्भावना रहेको बताएका छन्। साथै फिल्ममार्फत रंगेलीलाई चिनाउने काम गरेको भन्दै निर्माण समूहलाई उनले धन्यवादसमेत व्यक्त गरेका छन्।

बोर्डले सो फिल्मलाई सोही नगरपालिकाको सहमतिपत्र चाहिने भन्दै सेन्सर सर्टिफिकेट दिन अस्वीकार गरेको थियो। तर, त्यसको व्यापक विरोध र आलोचना भएपछि बोर्डले आइतबार पिजी प्रमाणपत्र प्रदान गरेको छ।

प्रमाणपत्र बुझेपछि यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले नामको विषयलाई लिएर पछि समस्या हुनसक्ने भन्दै नगरपालिकाको सहमति ल्याउन भनेको, तर पत्र पेस नगरिकनै प्रमाणपत्र दिएको बताए।

अर्जुन सुवेदीद्वारा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत तथा सुशन प्रजापतिको छायांकन रहेको फिल्म संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन्।

जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता, युवक कार्की र शिवशंकर चौलागार्ई सह–निर्माता र विवेक खड्का (योलो) एसोसियट निर्माता रहेका छन्।

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्