काठमाडौंमा प्रहरीले ई–क्यूआरटी सेवा सुरु गरे

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप काठमाडौंमा प्रहरीले ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको छ ।

कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, अब प्रहरीको क्यूआरटी टोली घटनास्थलमा पुगेरनपुगेकोसहित उनीहरुको सम्पूर्ण गतिविधि अफिसरहरुले जहाँसुकैबाट निगरानी गर्नसक्छन् ।

खत्रीका अनुसार, काठमाडौं प्रहरी मातहतका वृत्त र प्रभागहरुबाट जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मार्फत मोटरसाइकलमा खटिने टोलीको लोकेसन नियमित ट्र्याक हुनेछ ।

राजधानीमा खटिने ६० वटा पुलिस क्यूआरटी टोलीको सदस्यलाई शरीरमा हुने क्यामरासहितको प्रविधि जडान गरिएको उनले बताए ।

जिल्ला प्रहरी परिसर, टेकुमा बुधबार आयोजित कार्यक्रमका बीच ई–क्यूआरटी सेवा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उद्घाटन गरेका थिए ।

उनले यो सेवालाई क्रमशः भक्तपुर र ललितपुरमा पनि विस्तार गरिने बताए । थापाले क्यूआरटी टोली प्रहरी अनुसन्धानमा सबैभन्दा प्रभावकारी देखिएको बताउँदै यसलाई अझ बढी स्रोत, साधनले सम्पन्न बनाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।

 

प्रकाशित : 7 March, 2024

प्रतिक्रिया दिनुहोस्