अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री पुनलाई विज्ञहरुको सुझाव
काठमाडौं । फागुन २५, अर्थतन्त्र सुधार गर्न र्अर्थमन्त्री वर्षमान पुनलाई विज्ञहरुद्धारा विभिन्न सुझाव दिएका छन् ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ गठबन्धन बनेको छ । नयाँ अर्थमन्त्रीका रूपमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुनले पदबहाली गरिसक्नुभएको छ ।
देशको अर्थतन्त्र भने यति बेला शिथिल छ । एक वर्षअघि अर्थ मन्त्रालयको बागडोर सम्हालेका डा. अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गर्दै आउनुभएको थियो ।
तर अपेक्षाअनुसारको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सक्नुभएन । अर्थतन्त्रमा सकारात्मक दिशा दिन र निजी क्षेत्रलाई विश्वासमा लिन नसक्दा महत असफल बन्नुभयो ।
अर्थमन्त्री वर्षमान पुनले बुधवार पदबहाली गर्दै अर्थतन्त्रमा चुनौती रहेको स्वीकार गर्नुभयो । उहाँले चुनौती भए पनि समाधान गर्नसक्ने अवस्था रहेको भन्दै सबैलाई विश्वासमा लिएर समाधान गर्ने बताउनुभयो ।
अर्थमन्त्री पुनले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि सरकारले लिएको नीतिमा सघाउ पुग्नेगरी अर्थ व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले पनि अर्थमन्त्रीलाई अर्थतन्त्र सुधार गर्नुपर्ने चुनौतीका चाङ रहेको बताउनुभयो । उहाँले अर्थमन्त्रीले सबैभन्दा पहिला बजारको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।
उहाँले आउँदो वर्षको बजेट निजी क्षेत्रमैत्री बनाउनुपर्ने चुनौती पनि रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्रीलाई सबैभन्दा पहिला बजारको गिर्दै गएको आत्मबल जगाउनुपर्ने चुनौती छ ।
अर्थमन्त्रीले बजारको आत्मबल बढाएर निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्छ । देशको अर्थतन्त्रमा ८० प्रतिशत योगदान पुर्याएको निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ ।
बजारमा लगानीयोग्य पुँजी पर्याप्त मात्रामा भए पनि निजी क्षेत्रले लिएको अवस्था छैन । त्यो पुँजीलाई प्रतिफल दिने उत्पादनशील क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौती छ ।
सरकारको प्रमुख चुनौती खर्चको भन्दा पनि स्रोत व्यवस्थापनको देखिएको छ । अघिल्लो सरकारले घोषणा गरेको लगानी सम्मेलन सफल बनाउने चुनौती पनि अर्थमन्त्रीलाई रहेको छ ।
सरकारले आउँदो वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनका लागि सबैसँग समन्वय र सहकार्य गर्नुपर्ने चुनौती रहेको छ ।