सरकारमा सहभागी हुनुअघि छलफल नभएको भन्दै रास्वपाभित्र गुनासा

काठमाडौं । फगुन २८, सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गुनासा देखिएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए ।
उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको जवाफ दिएका थिए । उनले सरकारमा जानुपर्नाको कारण लामो व्याख्यासहित केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए ।
महामन्त्री मुकुल ढकालले सरकारमा सहभागिताको क्रममा राजनीतिक गतिविधि तीव्र गतिमा विकास भएकाले छलफल हुन नसकेको स्पष्टीकरण दिएका थिए ।
‘राजनीतिक घटनाक्रम यसरी विकास भयो कि सबैसँग परामर्श लिन बैठक गर्न भ्याइएन’, बैठकमा ढकालले भने । पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय लिनका लागि सभापति रवि लामिछानेलाई सर्वाधिकार दिइएको पनि उनले बताएका थिए ।
२०८४ सालको आम चुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको नेताहरुको तर्क थियो ।
केन्द्रीय सदस्य अनिलकेशरी शाहले रास्वपाले पाएका सबै मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएका र काम गरेर देखाउन सकिने खालका भएको बैठकमा बताए ।
अर्का केन्द्रीय सदस्य गणेश पराजुलीले अब रास्वपा जवाफ दिने ठाउँमा पुगेको बताए । उनले बैठकमा भनेका थिए, ‘हिजो प्रतिपक्ष हुँदा हामीले सत्ता पक्षलाई प्रश्न गर्यौं । हाम्रो भूमिका जवाफ दिनेमा फेरिएको छ ।’
सरकारमा सहभागिता ऐतिहासिक अवसर भएकाले सबैले सहयोग गर्ने र सफल बनाउन सिंगो केन्द्रीय समिति एकढिक्का रहेर निणएय गरिएको महामन्त्री ढकालले जानकारी गराए ।
बैठकमा उपनिर्वाचनको बारेमा पनि छलफल भएको छ । इलाम–२ को उपनिर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने निर्णय रास्ववाले गरेको छ ।