सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेको आरोपमा आठ जना पक्राउ
काठमाडौं । फागुन २९, दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।
बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो ।
बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।
नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।