कर्णाली पुलमा आगलागीले पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन

सहयात्रा टिभी

काठमाडौं । फागुन २९, सोमबार ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ ।

आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले विज्ञ टोली पुल पुगेको छ । टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ ।

सोमबार वीरगञ्जबाट पश्चिमतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा समेत क्षति गरेको हो ।

आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । ग्यास लाइटर बोकेको ट्रकसमेत जलेर नष्ट भएको छ । एकमात्र खम्बाको भरमा अडिएको यो पुल नमुना पुलका रूपमा चर्चित छ ।

खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो ।

राष्ट्रिय समाचार समितिले सडक डिभिजन कार्यालय नेपालगञ्जलाई उद्धृत गर्दै जनाए अनुसार आगलागीबाट पुलको कुल १४ सपोर्ट डोरीमा आंशिक क्षति पुगेको छ । कार्यालयको टिमसमेत सोमबार नै घटनास्थल पुगेर अवलोकन गरेको थियो ।

 

प्रकाशित : 12 March, 2024

प्रतिक्रिया दिनुहोस्