रन्जितालाई रेशमको सन्देश : तिमीलाई सम्झाउन सकिनँ प्रिय !

सहयात्रा टिभी

काठमाडौं । फागुन ३०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टीको आन्तरिक विवादलाई पुष्टि गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान राजनीतिक परिस्थितिका बारेमा धारणा सार्वजनिक गर्दै पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरी (श्रेष्ठ) लाई सम्झाउने प्रयास गरेका छन् ।

सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो । पार्टीका संस्थापक रेशम वर्तमान सरकारको विपक्षमा रहँदा अध्यक्ष रञ्जिताले भने प्रधानमन्त्री दाहालले आज लिने विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेकी छिन् । यसै प्रसङ्गमा चौधरीले मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय भन्दै विषय हार जितको नभएको बताएका छन् ।

उनले आज जिते प्रचण्ड र ओली तथा भोलि फेरि देउवा जित्लान् भन्दै सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो भन्दै सम्झाउने प्रयास गरेका छन् । उनले कसैको पछाडि नलागी पार्टी निर्माणमा जुट्न आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘ सन्दर्भ घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस्– एमाले, माओवादी कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता, सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजवादी समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ ? त्यसैले कुरा बुझौँ, कुनै पनि गठबन्धनका पछाडि नलागौँ ।’

उनी अगाडि लेख्छन्- ‘कुरो रह्यो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् , दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठूलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।

मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।’

प्रकाशित : 13 March, 2024

प्रतिक्रिया दिनुहोस्