चैतका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए
काठमाडौं । फागुन ३०, चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।
यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।