बाग्लुङमा पहिलो पटक महिला समूहले थाले दुनाटपरी उद्योग
काठमाडौं । फागुन ३०, बाग्लुङ बजारमा पहिलो पटक दुनाटपरी उद्योग सञ्चालनमा आएको छ ।
उद्यमशील मगर महिला समूह बाग्लुङ नगरपालिका–३ शान्तिटोलले हिजो मङ्गलवारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको मगर महिला समूहले जनाएको छ ।
तीन लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालनमा ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुशी व्यक्त गर्नुभयो ।
धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी रेस्टुरेन्टमा पनि प्रयोगमा आउन थालेको छ ।
२८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गएको वर्षको ‘अफ्रिकन स्वाइन फिभर’ फैलिएपछि दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको उद्यमशील मगर महिला समूहकी अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो ।