दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै गृहमन्त्री समक्ष ज्ञापनपत्र

काठमाडौं । चैत १, क्रसर व्यवसायीबाट मारिएका युवक दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवारले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समक्ष ज्ञापनपत्र बुझाएको छ ।
बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर परिवारका सदस्यहरुले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग गरेका छन् ।
घटनाका मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने, दिलिपको हत्या भएको क्रसरसहित देशभरका अवैधानिक क्रसर उद्योग बन्द गराउनुपर्ने उनीहरुको माग छ ।
यस्तै चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐन बनाउन, दिलीपको परिवारलाई राहत र कम्तीमा परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने उनीहरुको माग छ ।
घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा धनुषाको मिथिला नगरपालिका– ५ का दिलिप महतोको ५ पुस २०७६ मा टिपरले किचेर हत्या गरिएको थियो ।
यो मुद्दामा जिल्ला अदालत धनुषाले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ । सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ ।