बाबुरामले बोलाएको बैठकमा महिन्द्रराय पक्षधरको आपत्ति

सहयात्रा टिभी

काठमाडौं । चैत १, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।

उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । भट्टराईले केन्द्रीय कार्यालयको नामबाट बैठक बोलाएका थिए ।

भट्टराईले बैठक बोलाउने र यादवले बैठक नभएको सूचना जारी गर्ने घटनाबाट नेसपाभित्रको विवाद फेरि सतहमा आएको हो । यादव नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

तर भट्टराईले माओवादी केन्द्रको चिह्नबाट जितेका आफ्ना जनप्रतिनिधिहरुलाई अलग्गै दलको मान्यता दिन माग राखेर निर्वाचन आयोगमा गत २२ फागुनमा निवेदन दिएका छन् । अलग्गै दलको मान्यता दिन निवेदन दिएपछि डा.भट्टराईले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

बुधबार प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेर राखेको प्रस्तावमा यादवले माओवादीका तर्फबाट बोलेका थिए ।

 

प्रकाशित : 14 March, 2024

प्रतिक्रिया दिनुहोस्