दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न अर्थले निर्देशन

सहयात्रा टिभी

काठमाडौं । चैत २, अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा। रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् । हाल रकम भुक्तानी नपाएको भन्दै देशभरिका किसान आन्दोलित छन् ।

अहिले डीडीसीले दुग्ध किसानलाई १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । तर, निजी डेरीहरू समेतबाट किसानले करिब ५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

डीडीसीले किसानको रकम भुक्तानी गर्न तत्काल ३० करोड रुपैयाँ दिन ६ महिनाअघि कृषि मन्त्रालयमा अनुरोध गरी पठाएको थियो । कृषिले सोही अनुसार अर्थ मन्त्रालयमा रकम निकासा गर्न अनुरोध गरेको थियो ।

अर्थबाट रकम आयो भने त्यो रकम डीडीसीलाई सिधै दूध उपलब्ध गराउने किसानलाई भुक्तानी सुरु गर्ने उनले जानकारी दिए ।

डीडीसीसँग अहिले पाउडर दूध, घिउ, बटरलगायत १ अर्ब २० करोड मूल्यबराबरको समान मौज्दात रहेको पनि उनले जानकारी दिए ।

तर, अर्थले रकम अभाव कारण देखाउँदै भुक्तानी दिएको थिएन । कृषि मन्त्रालयलाई यसअघि विनियोजन गरेकै बजेटमध्ये खर्च नभएको रकम फिर्ता (सरेन्डर) गर्न लगाएर डीडीसीलाई रकम निकासा दिने तयारी भएको अर्थ मन्त्रालय स्रोतले  जानकारी दियो ।

 

प्रकाशित : 15 March, 2024

प्रतिक्रिया दिनुहोस्