छानबिनका नाममा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ : जीवन परियार

काठमाडौं । चैत ५, नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा कानुनको दुरुपयोग हुन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग गर्न नहुने बताएका हुन् ।
उनले भने, ‘छानबिनका नाममा राजनीतिक आग्रह र पूर्वाग्रहमा कानुनको प्रयोग नहोस् । हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं, सचेत गराउन चाहन्छौं ।’
सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव छ ।
यो प्रकरणमा आयोगले मुद्दा दर्ताका लागि सिफारिस गरेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको उल्लेख गर्दै उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’
सुन तस्करीमा संलग्न भनिएका जीवन चलाउनेले भारतको दिल्लीबाट सार्वजनिक गरेको भिडियो र अडियोका सन्दर्भमा समेत छानबिन हुनुपर्ने उनको माग छ ।
सहकारीका ठगीहरूका सम्बन्धमा निष्पक्ष छानबिन हुन्छ की हुँदैन भन्ने चासो आमरुपमा रहेको परियारले बताए । उनले भने, ‘जुनसुकै व्यक्तिले ठगी गरेको भए पनि कारबाहीको भागीदार हुनुपर्छ ।’