सीआईबीले जीवन चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको खुलासा

काठमाडौं । चैत ५, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीवन चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको पाइएको छ ।
सुन तस्करी प्रकरणमा जोडिएपछि चलाउनेसहित तीन जनालाई सीआईबीले पक्राउ गरेर छाडेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सीआईबीले अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई पनि सीआईबीले पक्राउ गरेर छाडेको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार नन्दुकुमारका दाजु-भाइ न्यूरोडमा सुन चाँदी पसल गर्छन् ।
उनीहरुले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यो कुरा भाइले स्वीकार समेत गरेका थिए । तर त्यति हुँदासमेत सीआईबीले नन्दुकुमारलाई छाडेको पाइएको छ ।
सीआईबीका अधिकारीलाई पनि चलाउनेले आफू दिल्ली नै फर्केको बताएका थिए । तर आयोग स्रोतका अनुसार चलाउने दुई दिनसम्म काठमाडौंमै बसेर तेस्रो दिन मात्रै काठमाडौं छाडेका थिए ।