गुल्मीको विचित्र गुफामा विदेशी पर्यटक बढ्दै

काठमाडौँ । चैत ६, पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफा पर्यटकको रोजाइमा पर्न थालेको छ ।
धुर्कोट गाउँपालिका-५ बस्तुस्थित विचित्र गुफाको अवलोकनका लागि विदेशी पर्यटकसमेत आउन लागेका छन् । गुफामा पछिल्लो १५ दिनमा विभिन्न देशका करिब ३० जना पर्यटकले गुफा अवलोकन गरेको तथ्यांक छ ।
केही दिनअघि १७ जनाको फ्रान्सेली नागरिकहरु त्यस विचित्र गुफाको अवलोकन गरेका थिए । त्यसपछि बेल्जियम, स्पेन र फ्रान्सका १२ जना पर्यटक गुफा हेर्न पुगेका थिए ।
गुफा अवलोकनका लागि आएका विदेशी पर्यटकलाई वडाध्यक्ष केशवराज भण्डारी र विचित्र गुफा संरक्षण तथा विकास समितका अध्यक्ष सन्तोष गौतम सुनारले स्वागत गरेका थिए ।
गुफामा यसअघि फाटफुट रुपमा विदेशी नागरिकहरु गुफा अवलोकन भ्रमणमा आए पनि ठूलो समहूमा आउन थालेको यो पहिलो पटक हो ।
गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको छ ।
विचित्र गुफा कुल १८५ मिटर रहेको छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थुन र निकै कलिला चट्टानहरु रहेका छन् ।
अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो गुफा हुन सक्ने यसको अझै धेरै कुरा पत्ता लागिनसकेको दाबी गरिएको छ ।
गुफाभित्र सानाठुला गरी ११ वटा धार्मिक ग्रन्थमा आधारित कक्षहरु छन् । गुफाभित्रको उचाइ पनि कतै निहुरिएर पस्नु पर्ने त कतै सभाहल नै बन्नेखालको छ ।
हिन्दु धर्ममा आधारित विभिन्न प्राकृतिक संरचना रहेको त्यस गुफा नाम जस्तै विचित्रको छ ।