कांग्रेसले रविलाई सदन अवरुद्ध भइरहँदा कसरी चल्छ सत्ता भनि प्रश्न गरे

काठमाडौं । चैत ७, नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठक पछाडि उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सत्ता हाँकिरहने बताएका थिए ।
लामिछानेको सोही अभिव्यक्तिमाथि बुधबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले प्रश्न उठाएको हो ।
प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आफ्ना कुरा राख्न कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेलाई समय दिए । न्यौपानेले गृहमन्त्री लामिछानेले गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताइन् ।
अरु बेला नभएता पनि बजेटका लागि त सदन चाहिन्छ होला नि भन्ने पनि उनको प्रश्न छ । ‘बजेटका बेला पनि संसद चाहिंदैन होला, हामीलाई चाहिएको छ संसद,’ उनले भने ।
आफूलाई सहकारीको रकम हिनामिनामा संलग्न भएको भनी आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति कै माग गरेपछि गृहमन्त्री लामिछानेले कांग्रेस पनि दुधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका थिए ।
आफू कामले जवाफ दिने पक्षमा रहेको भनी उनले कांग्रेसलाई नैतिकताको कुरा नसिकाउन चेतावनी दिंदै उनले भनेका थिए, ‘म भन्छु- नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् ।
अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् ।’ अनुसन्धान गर्दागर्दैमा मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् ।’
चार वर्ष आफूहरुले काम गर्दा अहिलेका धेरै मान्छे सदनमा नहुन सक्ने पनि उनको भनाइ थियो ।
गृहमन्त्री लामिछानेको यही अभिव्यक्तिमाथि कांग्रेसले बुधबार संसदमा प्रश्न उठाएको हो । साथै, कांग्रेस सांसद न्यौपानेले संसदीय छानबिनबाट नभाग्न पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरेकी छन् ।
अब बस्ने बैठकमा गृहमन्त्रीको सहकारीको रकम अपचलनमा रहेको संलग्नताको विषयमा छानबिन गर्न संसदीय छानबिन गर्ने प्रक्रिया अगाडि नबढे संसद चल्न नदिने पनि उनले चेतावनी दिइन् ।