बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान

काठमाडौं । चैत ८, बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो । आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।