महिला न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत ८, महिला न्यायाधीशहरुको दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारबाट सुरु हुँदैछ ।

‘न्याय प्रणालीमा लैंगिक समानताको अभिवृद्धि : हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ जिल्लादेखि सर्वोच्च अदालतसम्मका महिला न्यायाधीशहरुको सम्मेलन हुन लागेको हो ।

लैंगिक न्याय, नेतृत्व सीपको विकास, पारिवारिक अदालत, मुद्दाको प्रवृत्ति र विधिशास्त्र निर्माण, क्षमता विकास लगायतका अवधारणामा दुई दिनसम्म छलफल हुने सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीले बताइन् । शनिबार सकिने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

‘मूलरुपमा आपसी ऐक्यवद्धता र सञ्जाल निर्माण गर्ने यसको उद्देश्य हो । नीतिगत रुपमा पनि केही सवालहरुवारे छलफल गर्नु यसको उद्देश्य हो’ सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीले भनिन्, ‘पहिले हामी ५/६ जनामात्रै थियौं । अहिले सहभागिताको संख्या पनि बढेकाले सम्मेलन गर्नसक्ने अवस्थामा पुगेका हौं ।’

न्यायपरिषदको अभिलेख अनुसार, सर्वोच्च अदालतमा ३, उच्च अदालतमा २२ र जिल्ला अदालतमा १२ न्यायाधीश गरी देशभर ४३ जना महिला न्यायाधीश छन् ।

 

प्रकाशित : 21 March, 2024

प्रतिक्रिया दिनुहोस्