विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

सहयात्रा टिभी

बहराइन । चैत ९, फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।

नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे । नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

पहिलो हाफमा नेपालका कप्तान किरणले तीन बचाउ गर्दा नेपालले गोल अन्तर बढी हुनबाट रोकेको थियो । नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा बहराइनले नेपालमाथि दबाब कायम राख्दै एक गोल थप्यो । ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५-० को जित दिलाए । समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ ।

प्रकाशित : 22 March, 2024

प्रतिक्रिया दिनुहोस्