होलीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना : मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्छ

काठमाडौँ । चैत ११, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन् ।
उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताए ।
शुभकामना सन्देशमा दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।
‘नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होली पर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ’, शुभकामना सन्देशमा उनले भनेका छन् ।
प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताएका छन् ।
उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरेका छन् ।