केपी ओली प्रचण्ड माधव नेपाल एमाले


४० नेताको दलबल लिएर महाजात्रा हेर्न पुगे ओली

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । उनले चलचित्रलाई १० मा ९.५ नम्बर पनि दिए ।

‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाए । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिएँ । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् । ‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे, फिल्म त्यतिमै सिमित छैन । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ । मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, ओलीले भनिन् । अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्