धर्म प्रवर्द्धन गर्न रकम बाँडेको भनी लगाएको आरोपमा अमेरिकाद्धारा प्रष्टीकरण

सहयात्रा टिभी

काठमाडौं। चैत १३, अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे मुख खोलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको प्रष्टीकरण दिएको हो ।

‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसार भर सबै ठाउँका मानिसहरूको आआफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ’, दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।’

नेपालमा धार्मिक आस्था, धर्म परिवर्तन लगायत विषयमा बाह्य देशहरुले भूमिका खेलिरहेको भनी उठ्ने गरेका आशंकालाई बल दिँदै रिपब्लिकन सिनेटरले मार्च २२ मा संसदीय समितिमा प्रश्न उठाएका थिए । दुई वर्षअघि रिपब्लिकनकै अर्का सांसद न्युट ग्रिनरिचले पनि यस्तै आशंकासहित प्रश्नहरु गरेका थिए ।

 

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्