केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरियामा हवाई आक्रमण हुँदा सैन्य कमाण्डरसहित ७ जना मारिए

सहयात्रा टिभी

काठमाडौं । चैत २०, सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् ।

सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । इजरायलको सेनाले विदेशी मिडियाको रिपोर्टमा कुनै टिप्पणी नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सीरियाको रक्षा मन्त्रालयले आक्रमण इजरायलले गरेको जिकीर गरेको छ । इजरायली एयरक्राफ्टले गोलान हाइट्सबाट इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको जनाएको छ ।

सिरियामा इरानको वाणिज्य दूतावास पश्चिमी मेजास्थित एक हाईवेमा छ । सिरियाले इजरायलका केही मिसाइललाई खसालेको र केहीलाई रोक्न नसकेको पनि जनाएको छ ।

यो आक्रमण स्थानीय समय अनुसार सोमबार साँझ करिब ५ बजेतिर भएको थियो । आक्रमण यति भयानक थियो कि ठूलो भवन पनि ध्वस्त भएको छ । इरान र सिरिया दुवै सरकारले आक्रमणको निन्दा गरेका छन् ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्