विकलको सम्पत्ति छानबिन गर्दा अमेरिकामा पनि सम्पत्ति जोडेको फेला

काठमाडौं । चैत २१, सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलको सम्पत्ति छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले अमेरिकामा पनि सम्पत्ति जोडेको फेला पारेको छ ।
अख्तियार उच्च स्रोतका अनुसार पौडेलले पत्नी एलिना बस्नेतको नाममा साढे दुई वर्षअघि नै घर किनेको खुलेको हो । त्यस सम्बन्धी कागजात भेटेपछि अख्तियारले कानून मन्त्रालयमार्फत अमेरिकी सरकारी संयन्त्रसँग सम्पर्क गरी थप सूचना संकलन गरिरहेको छ ।
अमेरिकामा स्थायी आवासीय अनुमति (पीआर) पाए लगत्तै विकल पौडेलले न्युयोर्कमा घर किनेको खुलेको हो । सेप्टेम्बर २४, २०२१ (तदनुसार ८ असोज, २०७८) मा उनले ५ लाख १५ हजार अमेरिकी डलरमा आवास खरिद गरेका थिए । त्यो मितिको विनिमयदर (प्रतिडलर ११७ रुपैंया) अनुसार, उक्त घरको मूल्य करिब ६ करोड रुपैंया हुन आउछ ।
अमेरिकाको पीआर लिएको थाहा पाएपछि निलम्बनमा रहेका पौडेललाई सरकारले ६ फागुन, २०८० मा पदबाट बर्खास्त गरेको थियो । गत बैशाखमा भ्रष्टाचार मुद्दा दायर भएदेखि नै उनी निलम्बनमा परेका थिए ।
१० माघमा पक्राउ परेका विकल र सुनिल पौडेललाई पटक-पटक विशेष अदालतबाट म्याद थप गरेर अख्तियारले हिरासतमा राखेर अहिले पनि अनुसन्धान गरिरहेको छ ।
गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको छानबिनमा पक्राउ परेका पौडेलले विभिन्न व्यक्ति र सार्वजनिक पदमा रहेका व्यक्तिहरुसँग फोन र ह्वाटस्एपमा गरेको कुराकानीको विवरण फेला परेको छ ।
त्यो छानविनमा मुख्यसचिव बैकुण्ठ अर्यालदेखि अरु सार्वजनिक पदमा रहेका व्यक्तिहरुसँग गरेको कारोवारको कुराकानीको विवरण आयोगले संकलन गरेको छ ।