केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ताइवानमा गएको भूकम्पमा ९ जनाको मृत्यु, ५० बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । चैत २२, ताइवानमा गएको भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् ।

आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त छन् । भूकम्प प्रभावित व्यक्तिहरुले गएको राति त्रिपाल र टेन्ट मुनि बिताएका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो ।

ताइवानको यो भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

बुधबारको भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइए पनि पछि उक्त चेतावनी हटाइएको थियो ।

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्