सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, बहुमत पुर्‍याउन मुस्किल

सहयात्रा टिभी

काठमाडौं । चैत २२, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।

तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको कांग्रेसका एक सांसदले बताए । उनले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको जनाए ।

‘मुख्यमन्त्रीले विश्वासको मत पाउँछु भन्नुहुन्छ तर, हामीलाई नाउपा विवादले बहुमत पुग्न सहज हुन्छ जस्तो लाग्दैन’ ती सांसदले भने ‘विश्वासको मत नपाउने भए राजीनामा दिन सुझाव दिएका छौँ । ’

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । नाउपाका ७ सांसद छन् ।

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।

कांग्रेसका सबै , नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्