देशलाई स्थिरता दिने हो भने कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ : नेता कोइराला

काठमाडौं । चैत २२,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई स्थिरता दिने हो भने कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको गठबन्धनले कुनै निकास नदिने बताए ।
यसअघि पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको कोइरालाले स्मरण गरे । तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको उनले बताए ।
‘संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ’, नेता कोइरालाले भने ।
कोशी प्रदेश सरकार अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।
कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनले बताए । अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको कोइरालाले बताए ।