स्वतन्त्र सांसदले समर्थन गर्ने भएपछि लुम्बिनीमा पुग्यो बहुमत

सहयात्रा टिभी

काठमाडौं । चैत २२, नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले लुम्बिनीमा सरकार गठनका लागि नयाँ गठबन्धनलाई समर्थन गर्ने भएका छन् ।

केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसंग बहुमत जुटाउन एक सांसदको कमी थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । अब स्वतन्त्र सांसदले समर्थन गर्ने भएपछि बहुमत पुगेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका सभामुखबाहेक १०, जसपाका तीन जना तथा नेकपा एकीकृतका एक सांसद छन् ।

बिहीबार स्वतन्त्र सांसद र चार दलको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्वन गर्ने दलहरुबीच सहमति भएको छ ।

 

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्