केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘महापुरुष’ अभिनेत्री कोपिला थापा कार दुर्घटनामा गम्भीर घाइते, एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत २४, भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् ।

उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको र गोपाल नामका एकजना नेपाली घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

एक कार्यक्रममा सहभागि भएर पञ्चकुलातिर फर्किएको उनीहरुको चढेको कार ब्रेकफेल भएर २५ फिट तल खसेर ढलानमा बज्रिएको जनाइएको छ । दुर्घटना लगत्तै स्थानीय गाउँलेले आफ्नै गाढीमा चढाएर उनीहरुलाई चण्डीगढस्थित नेहरु अस्पताल पुर्‍याएका थिए ।

यो घटना एकसाताअघि भएको हो । अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ । ढाडको शल्यक्रिया गरेर स्टिल राखिएपनि कम्मरभन्दा मुनिको शरिर चल्न नसकेको जनाइएको छ । तर, उनी बोल्न चाहिँ सक्ने भएकी छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र विकास बोर्डमा रहेको चलचित्र कल्याणकारी कोषमार्फत थापाको उपचारमा सघाउन पहल भैरहेको बताए । केही दिनअघि थापासँग आफ्नो कुरा भएको र दुर्घटनाबारे जानकारी लिएको अध्यक्ष निरौलाले बताए ।

मोरङ सलकपुरकी कोपिला अभिनेत्री रेखा थापाको ठूलाबुवाकी छोरी समेत हुन् । कोपिलाले दर्जनौं नेपाली फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गरेकी छन् । उनले पछिल्लो पटक हिट फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् ।

उक्त फिल्ममा उनले मदनकृष्ण श्रेष्ठको श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रकाशित : 6 April, 2024

प्रतिक्रिया दिनुहोस्