राप्रपाले आज ३ हजार भुपू सैनिक काठमाडौंमा उतार्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २५, गणतन्त्र खारेजी र राजसंस्था पुन:स्थापनाको एजेन्डासहित आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भुतपूर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गर्न लागेको हो । सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको थियो ।

आउँदो २७ चैतमा पार्टीले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गर्दैछ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रपा निकट सेवानिवृत्त सैनिकहरु सडकमा निस्किने भएका हुन् । राजनीतिक मुद्दाका लागि भुपू सैनिकहरु पहिलोपटक यसरी निस्किन लागेको संगठनका अध्यक्ष अवकाश प्राप्त महासेनानी प्रकाशजंग कार्कीले बताए । मार्च पासमा कम्तिमा पनि ३ हजार भुपू सैनिक सहभागी हुने उनको दाबी छ ।

भुपू सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुनेछ । भुपू सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्च पासमा उत्रिनेछन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि सभामा परिणत हुने कार्कीले जानकारी दिए । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्