लुम्बिनीमा पहिलो चरणको चार सदस्यीय मन्त्रिपरिषद गठन

सहयात्रा टिभी

काठमाडौं । चैत २५, लुम्बिनीमा  पहिलो चरणको  चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।

रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् ।

उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ । धेरै दल सरकारमा सहभागी हुंदा यसअघि कायम १० मन्त्रालय फुटालेर बढाउने तयारी छ ।

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्