केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकामा आज सूर्यग्रहण, ४ मिनेटसम्म हुनेछ अन्धकार

सहयात्रा टिभी

काठमाडौं । चैत २६, अमेरिकाका १५ राज्यका केही स्थानमा आज (अप्रिल ८) एकछिन ‘अन्धकार’ हुने भएको छ । चन्द्रमाको छाया परेर ती स्थानमा पूर्ण सूर्यग्रहण देखिने भएको हो ।

चन्द्रमाको छाया परेर अन्धकार हुने यो अवस्था मेक्सिकोबाट सुरु भएर क्यानडासम्मको उत्तरपूर्वी दिशामा केही घण्टासम्म रहनेछ । ठ्याक्कै चन्द्रमाको छाया परेर अन्धकार हुने भागलाई ‘समग्रता’मार्ग भनिएको छ । ती स्थानमा बस्ने करिब चार करोड ४० लाख मानिसले पूर्ण सूर्यग्रहण अर्थात् केहीबेरको अन्धकार देख्नेछन् ।

चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण देखिन्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । सोहीक्रममा चन्द्रमाको छाया परेको ठाउँमा अन्धकार हुन्छ । यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउने भए पनि सूर्यग्रहण हुन विशेष अवस्था मिल्नुपर्छ । योपटक पूर्ण ग्रहण १८५ किलोमिटर चौडाइ र १६ हजार किलोमिटर लामो समग्रता मार्गमा देखिँदै छ ।

यो मेक्सिकोको सिनालोआबाट सुरु भएर १५ अमेरिकी राज्य पार गर्दै क्यानाडाको ओन्टारियो, क्युबेक, न्यु ब्रन्सविक, नोभा स्कोटिया, प्रिन्स एडवर्ड आइल्यान्ड र न्यु फाउन्डल्यान्डमा पर्छ । सुरुआती विन्दुमा बिहान करिब ९ बजेर ५१ मिनेटमा सुरु भएर न्यु फाउन्डल्यान्डमा साँझ ५ बजेर १६ मिनेटमा ग्रहण देखिनेछ ।

अमेरिकाका टेक्सास, ओक्लाहोमा, अर्कान्सास, मिसौरी, केन्टकी, टेनेसी, इलिनोइस, इन्डियाना, ओहायो, मिशिगन, पेन्सिल्भेनिया, न्युयोर्क, भर्मन्ट, न्यु ह्याम्पशायर र मेन राज्यमा चन्द्रमाको छाया पर्ने बताइएको छ ।

यी राज्य समग्रतामार्ग अर्थात् चन्द्रमाको छाया पर्ने स्थानमा रहेकाले एकछिन अन्धकार देखिनेछ । सबैभन्दा लामो समय मेक्सिकोको टोरेनमा चार मिनेट २७ सकेन्डसम्म अन्धकार हुनेछ ।

प्रत्येक १८ महिनामा पृथ्वीमा पूर्ण सूर्यग्रहण देखिन्छ । तर, बाक्लो जनसंख्या भएको र धेरै मानिसले देख्ने ठाउँमा यस्तो ग्रहण लाग्दा बढी चर्चा हुने गर्छ ।

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्