हेटौंडाको गुन्द्रुकलाई सरकारी मान्यता प्राप्त

सहयात्रा टिभी

काठमाडौं । चैत २६, हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ ।

हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त गरेको जनाइएको छ ।

मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूह अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

 

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्