केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बायोपिक फिल्म बनिरहेका बेला बाग्मतीका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

सहयात्रा टिभी

काठमाडौं । चैत २९,  बायोपिक फिल्म ‘मेयर’ निर्माणका क्रममा रहेका बेला सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत कुमार थापामाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । यो फिल्म मेयर उनकै जीवन सङ्घर्षमाथि आधारित रहेको भनिएको छ ।

थापाको जीवनीमा आधारित रहेर दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘मेयर’ को उनकै जिल्लामा छायांकन भइरहेका बेला अख्तियार दरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको भन्दै बुधवार मुद्दा हालेको हो ।

अख्तियारले २०७४ असोजदेखि २०७९ माघसम्ममा ५ करोडभन्दा बढी मेयर थापाले अवैध रुपमा आम्दानी गरेको दाबी गरेको छ । अख्तियारको दाबी अनुसार थापाले अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती,भाइ र बुहारीका नाममा राखेको देखिएको छ ।

उनको जीवन सङ्घर्षमाथि आधारित रहेर फिल्म निर्माण भइरहेको थियो । भरतकुमार थापाको भूमिकामा कलाकार खगेन्द्र लामिछानेले अभिनय गरिरहेका छन् । उनले फिल्मका लागि मेयर भरतकुमार थापालाई भेटेर उनको आनीबानी र हाउभाउबारे अध्ययन गरेका थिए ।

केही समयअघि झण्डै एघार हजार दर्शकका साथ ‘मेयर’ को छायांकन भइरहेको भन्दै फिल्मको प्रचार गरिएको थियो ।

साथै यो फिल्ममा अभिनेत्री वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको समेत अभिनय रहनेछ ।

यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । श्रृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयम् हुन् ।

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्