रविलाई प्रधानमन्त्री बनाउने योजना असफल भएपछि कांग्रेसले सहकारीको विषय उठायो : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । चैत २९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताएका छन् ।

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डले लगाए ।

संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री प्रचण्डको यो भनाइ सार्वजनिक भएको हो ।

उनले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए । ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’

कांग्रेसले पहिलो प्रयास रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन गरेको र त्यो प्रयास सफल नभएपछि सहकारीको विषय उठाएको आरोप लगाए । ‘अहिले समीकरण बदलिएपछि पहिलो कोसिस भयो रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने । उहाँ प्रधानमन्त्री बनेर समीकरण उता जान तयार नभएपछि छानबिन समितिको कुरा आयो, भित्री कुरा यही हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्