नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने समझदारी बनेको दाबी

सहयात्रा टिभी

काठमाडौं । चैत २९, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने समझदारी बनेको दाबी गरेको छ ।

संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा समेत एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको छ ।

नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताए ।

नाउपाले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने समेत पण्डितले बताएका छन् । कैलाश नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन् ।

श्रेष्ठले हालै प्रदेश संसदीय दलको नेताबाट आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन् । उनको ठाउँमा कैलाशलाई नियुक्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाए पनि सभामुख भीमबहादुर भण्डारीले निर्णय लिएका छैनन् ।

राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नयाँ गठबन्धनसँगै जाने भन्ने विषयमा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएको थियो ।

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्