केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भियतनाममा बैंकिङ ठगीका आरोपी ट्रुङ लानलाई मृत्युदण्डको सजाय

सहयात्रा टिभी

काठमाडौं । चैत २९, भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई हो ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाइएको बीबीसीले जनाएको छ ।

पक्राउ परेकी ट्रुङ माई लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताहरूले २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको बताएका छन् ।

यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको खबरमा उल्लेख छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले एक सय चार वटा बाकस भरिएको र यी कागजपत्रको तौल छ टन रहेको छ ।

भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि दुई सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए ।

यसअघिका कम्युनिस्ट सरकारले यस्ता मुद्दा मिलेमतोमा टुङ्ग्याउने गरेको भए पनि अहिलेको सरकार भने भ्रष्टाचार विरोधी भएकाले मुद्दा टुङ्गोमा पुगेको खबरमा उल्लेख छ । भियतनाममा अनियन्त्रित भ्रष्टाचारको बारेमा जनआक्रोश बढिरहेको छ ।

लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्