मुख्यसचिव सहित टेलिकमका ३० कर्मचारीसँग बयान लिंदै अख्तियार

काठमाडौं । वैशाख ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणमा आरोपितहरुसँग बयान लिन थालेको छ ।
अख्तियारले हालका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, दुई सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारी र ३० उच्च पदस्थ कर्मचारीसँग बयान लिन थालेको हो ।
दैनिक ३र४ जना कर्मचारीलाई बोलाएर पालैपालो बयान लिइरहेको र यो साता बयान सकिने अख्तियारका एक अधिकृतले बताए ।
टेलिकमका सामान्य कर्मचारीलाई पत्र काटेर बयानमा झिकाएको अख्तियारले उच्चपदस्थ कर्मचारीलाई टेलिफोन गरेर बयानका लागि बोलाएको छ ।
यो साता टेलिकमका कर्मचारीहरुको बयान लिने र उनीहरुको सकिएपछि सञ्चालक समितिका पदाधिकारीहरुको सुरु गर्ने अख्तियारको तयारी छ । अख्तियारले टेलिकमका पूर्वप्रबन्ध निर्देशक डिल्लीराज अधिकारीसँग बयान लिइसकेको छ ।
निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीसँग पनि बयानको तयारी गरेको छ । दुवैजना बिलिङको मर्मतसम्भार ठेक्कासम्बन्धी प्रक्रियामा संलग्न रहेको अख्तियारको आरोप छ ।
सञ्चालक समितिले आवश्यक परेमा थप एक वर्ष त्यस्तो सम्झौता लम्ब्याउन सकिने भनी प्रस्ताव अनुमोदन समेत गरेको छ । त्यतिबेलै सञ्चालक समितिले नयाँ टेण्डर प्रक्रिया अघि बढाउने निर्णय गरेपनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन ।