अदालतले तोकेको पेसी अगाडि नै गण्डकीमा विश्वासको मत लिने तयारी

काठमाडौं । वैशाख ३, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।
गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ ।
सुरूवातमै अल्पमतमा देखिएको गण्डकी प्रदेश सरकारले अदालतले आदेश दिनुअगावै विश्वासको मत लिने तयारी गरेको हो ।
गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका विना विभागीय मन्त्री हरिबहादुर चुमानले अदालतको पेसी अगाडि नै विश्वासको मत लिने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।
सभामुखलाई गणना गर्न नहुने भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई असहमति पत्र बुझाएको थियो । तर, प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे चैत २७ गते गण्डकी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च पुगेका थिए ।
सोही रिटउपर सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।