केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियाको सिड्नीमा एक साताभित्रै दुईपटक चक्कु प्रहार

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन तर चार जना घाइते भएका छन् ।

अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो ।

एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए । प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए ।

यो घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एक साताभित्रै दुईपटक चक्कु प्रहारको घटना भएपछि प्रहरीले यसलाई धर्मको आधारमा भएको आतंकवादी हमलाको संज्ञा दिएको अलजजिराले जनाएको छ ।

चर्चमा भएको आक्रमणपछि आक्रोशित दर्जनौं व्यक्तिहरू चर्च बाहिर भेला भएका थिए । उनीहरू र प्रहरीबीच झडप नै भयो । आक्रोशित समूहको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने २० वटा गाडीमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि आक्रोशित समूहले करिब तीन घण्टासम्म घेरा हालेर राखेका थिए ।

यो घटनापछि प्रधानमन्त्री एन्थोनी एलबनिजले राष्ट्रिय सुरक्षा एजेन्सीको बैठक बोलाएर छलफल गरेका थिए । उनले अष्ट्रेलिया शान्तिप्रिय देश भएको भन्दै आतंकवादलाई कुनै स्थान नरहेको बताएका छन् ।

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्