केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जीबी राई पक्राउ गर्न माग गर्दै सहकारी पीडितद्धारा बुटवलमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएका पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए ।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए ।

अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भएपनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए ।

सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलले आरोप लगाए ।

प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको छ ।

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्