रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण
काठमाडौं । वैशाख ५, नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य सुरु गरेको छ ।
रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालिएको हो ।
निगमले करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागेको हो । नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ ।
एक औपचारिक कार्यक्रमबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जीतकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
दुवै अध्यक्षले भण्डारण गृह निर्माण तथा सञ्चालनमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताए ।
३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताए ।
यो भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारण गर्न सकिने छ ।
डिजेल भण्डारका लागि २१ सय किलोलिटरका तीन वटा, पेट्रोल भण्डारणका लागि १६ सय किलो लिटरका दुई वटा र मट्टितेल भण्डारणका लागि ७ सय किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिने उनले बताए ।