केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्थमन्त्री पुनद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, अर्थमन्त्री वर्षमान पुनद्धारा अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।

अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीसँग वासिङटन डीसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए ।

भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो ।

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए ।

निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे ।

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको जानकारी दिए ।

यस्तै कम्पनी दर्ता र लगानीको सुरुवात तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो ।

नेपाल कानुनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए ।

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्